यसपटकको दसैं, तिहारमा कर्णालीमा खाद्य अभाव नहुने भएको छ। दसैं तिहारलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सुर्खेतले खाद्यान्न पठाइसकेको छ।

कर्णालीको खाद्यान्न समस्या हुने जिल्लाहहरु हुम्ला, मुगु र डोल्पामा पनि यस वर्ष चाडपर्व अघि नै खाद्यान्न पठाइसकेको कम्पनीका प्रमुख भिमबहादुर थापाले बताए।

‘यस वर्ष साउनदेखि नै खाद्यान्न ढुवानीको काम सुरु गरेका थियौं, त्यसैले कर्णालीका कुनै पनि जिल्लामा खाद्यान्न अभाव हुँदैन,’ उनले भने, ‘खाद्यान्न अभाव बढी हुने भनेको हुम्लामा हो, यस वर्ष त्यहाँको डिपोमा पनि तीन हजार क्वीन्टल चामल मौज्दात छ।’

सडक सञ्जालमा नजोडिएका जिल्लाहरुमा खाद्यान्न ढुवानी भइसकेको र मुगुलगायतका जिल्लाहरुमा पठाउने तयारी भइरहेको कार्यालय प्रमुख थापाले जानकारी दिए।

विगतका वर्षहरुमा चाडपर्वको केही दिन अघिमात्र खाद्यान्न पठाइने हुँदा ढुवानी समस्याका कारण चाडपर्वमा पनि खाद्यान्न अभाव हुने गरेको थियो। प्रमुख थापाका अनुसार यस वर्ष साउनदेखि नै खाद्यान्न ढुवानी गरिएको हो। ‘हामीसँग पर्याप्त मौज्दात छ, दसैं तिहार र छठमा खाद्यान्न अभाव हुन दिने छैनौँ’ उनले भने। यो वर्ष हुम्ला र डोल्पा जिल्लामा पर्याप्त रुपमा खाद्यान्न मौज्दात रहेकोे उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर