काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा ९ टिममध्ये ५ टिमका मार्की प्लेयर नयाँ छन् ।
विशाल श्रेष्ठ, विकेश कुथु, अञ्जन विष्ट र अनन्त तामाङ पुराना हुन् भने आयुष घलान, हिसुब थपलिया, दीप कार्की, ऐरिक विष्ट र आशिष चौधरी नयाँ मार्की प्लेयर हुन् ।
पहिलो संस्करणको एनएसएलमा पोखरा थन्डर्समा ट्यालेन्ट हन्टबाट छानिएर राष्ट्रिय टिमसम्म मौका बनाएका आयुष घलान यस वर्ष सोही टिमका मार्की प्लेयर बन्न सफल भए । हिसुुब र आशिषका लागि यो पहिलो एनएसएल हो ।
स्टार खेलाडीहरु पलायन भएका कारण नयाँ खेलाडीले मौका पाएका हुन् । अघिल्लो संस्करणमा ६ टिममात्र सहभागी रहेको एनएसएलका लागि यसवर्ष तीवटा टिम थप भएको छ ।
जसमा झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगन्ज एफसी नयाँ टिम हुन् । इलामसँग मार्की प्लेयरका रुपमा विकेश कुथु छन् । विकेशले पहिलो संस्करणको एनएसएल काठमाडौं रेजर्सबाट खेलेका थिए ।
झापाको मार्कीमा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हरि खड्कासँग बराबरी गर्ने अञ्जन विष्ट छन् । वीरगञ्जमा भने दीप कार्की मार्की खेलाडी छन् ।
यस पटकको अक्सनमा जम्मा १७९ नेपाली खेलाडीको अक्सन भएको थियो । जसमा ए श्रेणीमा २८, बी श्रेणीमा ८१ र सी श्रेणीमा ७० खेलाडी रहेका थिए । जसमध्ये १२० खेलाडी विभिन्न टिममा विभाजित भइ खेल्नेछन् । १७९ खेलाडीमध्ये ५९ जना भने बिक्री भएनन् ।
इलामसँग अनुभवी खेलाडी
अनुभवी खेलाडीको सेट लिएर प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा नयाँ टिम स्पोर्टिङ इलाम डी मेची एनएसएलमा डेब्यु गर्दैछ । टिममा पूर्व च्याम्पियन कप्तान विकेश कुथु रहेका छन् ।
त्यस्तै, विराज महर्जन, भरत खवास, विमल पाण्डे र नवीन लामा जस्ता अनुभवी खेलाडीको साथमा यो टिमले एनएसएलमा डेब्यु गर्नेछ ।
ए श्रेणीबाट इलामले विराज मर्हजन, आशिष गुरुङ र नवीन लामालाई टिममा भित्र्याएको छ । जसमा नवीन लामा दोस्रो चरणको छनोटबाट इलाममा पुगेका हुन् । यी तीनमध्ये आशिष नयाँ खेलाडी हुन् भने बाँकी दुई पुराना र अनुभवी खेलाडी हुन् ।
बलियो झापा
एनएसएलमा डेब्यु टिमको रुपमा रहेको झापाका लागि मार्की खेलाडी अञ्जन विष्ट रहेका छन् । उनीसँगै झापा खेलाडी अक्सनमा सबैभन्दा बलियो लाइनअप बनाउने टिम हो । यो टिम मिडफिल्ड, फर्वाड र डिफेन्समा उत्तिकै सन्तुलन सहित बनेको देखिन्छ ।
ए श्रेणीबाट सर्वाधिक ९ टिमको माग पछि गोलाप्रथाबाट लकेन लिम्बु झापामा अनुबन्ध भए । यू–१९ मा उत्कृष्ट मिडफिल्ड बनेका प्रशान्त लक्सम लिम्बु पनि गोलाप्रथाबाट झापाकै पोल्टामा परे । डिफन्डर छिरिङ गुरुङ खोसाखोस हुँदै झापामा नै पुगे ।
गोल किपिङमा पहिलो श्रेणीमा रहेका जावलाखेल युथ क्लबका अनिल देउला यही टिममा छन् । झापाले अक्सनबाट छनोट भएका १३ खेलाडीका लागि २० लाख ५० हजार रुपैयाँ खर्चेको छ । ए श्रेणीबाट ३, बी बाट ६ र सी बाट ४ गरि झापाले १३ खेलाडीको टिम बनाएको हो ।
पोखरामा युवा खेलाडी
आयुष घलान मार्की प्लेयर रहेको पोखरामा अधिकांश युवा खेलाडी छन् । यो टिमलाई प्रशिक्षक नवीन लामाले प्रशिक्षण गर्नेछन् । खेलाडी छनोटमा निकै अगाडी गएको पोखराले १०० खेलाडीको अक्सन सकिँदा नै १० खेलाडी पुर्याइसकेको थियो ।
पोखरामा ए श्रेणीबाट डिफेन्डर अञ्जल महर्जन, मिडफिल्डर सुरजज्यू ठकुरी र फर्वाड सञ्जीव विष्ट रहेका छन् । आयुष आफैं पनि राष्ट्रिय टिमको अनुभव बटुलेका फर्वाड हुन् ।
ललितपुरको रक्षापंक्ति बलियो
ललितपुर सिटी एफसीको सबैभन्दा बलियो पक्ष यो टिमको डिफेन्स लाइन हो । रक्षापङ्क्तिमा मार्की प्लेयर अनन्त तामाङ सहित, सनिश श्रेष्ठ, सेसेहाङ आङदेम्बे रहेका छन् । मार्की प्लेयरबाहेक ए श्रेणीका दुई खेलाडी सनिश र सेसेहाङ दुवै उत्कृष्ट डिफेन्डर हुन् ।
त्यस्तै, श्रेणी ए मा रहेका दिनेश हेन्जन भने आर्मीका फर्वाड हुन् । यस टिममा विशाल सुनार गोलकिपर हुनेछन् । यस टिमको सबैभन्दा बलियो पक्ष डिफेन्स भए पनि सबै हेर्दा टिम सन्तुलन मिलाउन सकिने खालको छ ।
मिश्रित टिम वीरगन्ज
वीरगन्ज एनएसएलमा यसै सिजनबाट डेब्यु गर्ने टिम हो । टिमसँगै गोलकिपर दिप कार्कीले पनि मार्की प्लेयरका रुपमा डेब्यू गरेका छन् । नयाँ अनुहार धेरै सम्मिलित यस नयाँ टिमको मिडफिल्ड हेर्ने हो भने ए श्रेणीका दुई खेलाडी सुवास गुरुङ र सुदिप गुरुङ छन् ।
गोलपोष्टको जिम्मा मार्की प्लेयर दीप आफैंले लिन सक्नेछन् भने फर्वाडमा युवा खेलाडी सुनिल खड्कालाई प्रयोग गर्न सक्छ । तर यसरी हेर्दा यो टिमले फर्वाडमा भने विदेशीमा भर पर्ने अवस्था छ ।
अभागी बुटबल लुम्बिनी
शनिबार भएको अक्सनमा सबैभन्दा अभागी टिम हो बुटबल लुम्बिनी एफसी । अक्सनमा गोलप्रथाबाट यो टिम सबैभन्दा अभागी सावित भयो ।
विशेषत ए श्रेणीका दुई खेलाडी यो टिमले दोस्रो चरणबाट लिनु पर्यो । तैपनि टिम भने सन्तुलित नै छ । सी श्रेणीका भने यू–१९ मा राम्रो प्रदर्शन गरेका निराजन धामी बुटबलमा रहेका छन् ।
मिश्रित टिम चितवन
आजको अक्सनबाट चितवन एफसी मिश्रित टिम बनेको छ । चितवनका लागि विशाल श्रेष्ठ मार्की प्लेयर हुन् र उनले नै गोलपोष्ट सम्हाल्नेछन् । टिममा युवा र पाका दुवै खेलाडीको मिश्रण रहेको छ ।
डिफेन्समा छिरिङ गुरुङ र सिमान्त र एकराज बुढाथोकीले बलियो बनाउन सक्छन् भने मिडफिल्डमा उत्सव राई तथा फर्वाडमा अनुभवी नवयुगको काँधमा जिम्मेवारी रहनेछ ।
धनगढीको मिलेको टिम
एनएसएलको दोस्रो संस्करणमा युवा खेलाडी आशिष चौधरी मार्की रहेका धनगढी एफसी निकै मिलेको टिम छ । डिफेन्समा राष्ट्रिय टिमका भरपर्दा खेलाडी देवेन्द्र तामाङ रहेका छन् ।
फर्वाडमा आशिष आफैंले नेतृत्व गर्न सक्छन् । मिडफिल्डमा कृतिस रत्न छुन्जु निकै भरपर्दा खेलाडी हुन् । टिकेन्द्र सिंह थापाले टिमको गोलपोष्ट सम्हाल्नेछन् ।
फेरिएको काठमाडौं
काठमाडौं रेर्जसका लागि हिसुब थपलियाले मार्की प्लेयरको रुपमा टिममा खेल्नेछन् । यससँगै यू–१९मा उत्कृष्ट बनेका जियारथ शेख पनि काठमाडौं रेर्जसबाट नै खेल्नेछन् । काठमाडौंको टिममा जियारथ र अभिषेक बराल दुई गोलकिपर रहेका छन् ।
अञ्जन राई डिफेन्डरमा ए श्रेणीबाट आएका खेलाडी हुन् भने ए बाट नै आएका दिपेश गुरुङ र प्रशान्त अवस्थीले टिमको मिडफिल्डमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । यो टिम च्याम्पियन बन्दाको कप्तान विकेश कुथु यसवर्ष इलाममा रहेका छन् । त्यसैले फेरिएको युवा टिम सहित काठमाडौंले यस वर्षको एनएसएल खेल्नेछ ।