म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने ।

‘छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कासेली लैजाने चलन छ’, उनले भने, ‘अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो ।’

लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दसैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ ।

बेनीका फलफुल पसलहरूमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो । बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको ब्यापार दश गुणा बढी भएको बताए ।

विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ । घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आर्शीवाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा–२ की सुजता शर्माले बताइन् ।

कृषक र व्यापारीहरूका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दसैँमा धेरै खपत हुने गर्छ । स्याउ ब्यापारी सिवाङ तामाङले दसैँका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मण्डीमा पठाएको बताए । दसैँमा माग उच्च हुने भएकाले अघि नै टिपेर बजार पठाउने गर्छन् । चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ ।

बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दसैँमा मुस्ताङमा उत्पादन भएको स्याउको ठूलो मात्रा खपत हुने बताए ।

चाडपर्वको अलावा मुस्ताङ घुम्न आउने पर्यटक र पाहुनाहरूले कोसेलीको रूपमा स्याउ, स्याउको सुकुटी, स्याउको मदिरा, ओखर, जिम्बु, स्थानीय जातको सिमिको दाल किनेर लैजान्छन् । दसैँअघिको तीज र पछिको तिहार तथा छठ पर्वका लागि पनि मुस्ताङको स्याउ बजार पठाउने गरिएको मार्फाका कृषक लालप्रसाद हिराचनले बताए ।मुस्ताङका बगैँचामा पाकेका स्याउले बास्नादार भएका छन् । किसान र व्यापारीहरुलाई स्याउ टिपेर बजार पठाउने चटारो छ । यसपाली उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेबाट टिप्न थालिए पनि स्थानीय जातको स्याउ असोज १ देखि टिपेर बजार पठाउन थालिएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर