विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलहरूमा पुगेको नेपाली फिल्म ‘राजागंज’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
फिल्म नेपालमा चैत १ गते रिलिज हुने भएको हो।
देश बाहिर ‘पूजा, सर’ को नाममा प्रिमियर भएको फिल्म स्वदेशमा ‘राजागंज’ शीर्षकमा प्रदर्शन हुनेछ।
टी फोक्स फिल्मस् र ब्यांकतेश इन्टरटेन्मेन्टले फिल्मलाई नेपालभर वितरण गर्नेछन्।
दीपक रौनियारको निर्देशन रहेको फिल्मको निर्मातामा रामबाबु गुरूङ र दयाहाङ राईसँगै भारतीय निर्देशक अनुराग कश्यप पनि जोडिएका छन्।
महिलाप्रधान यो फिल्मको शीर्ष भूमिकामा आशा मगराती छिन्। साथमा दयाहाङ राई, विजय बराल, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, गौमाया गुरूङ, पशुपति राई, पुष्पा यादव, घनश्याम मिश्रा, परमेश्वर झा, रिंकु गायत्री झा लगायत कलाकारहरूले अभिनय गरेका छन्।
यसका निर्देशक रौनियारको फिल्म ‘हाइवे’ ले २०१२ मा बर्लिन फिल्म फेस्टिभलमा प्रतिस्पर्धा गरेको थियो। उनको दोस्रो फिल्म ‘ह्वाइट सन’ भेनिस, टोरोन्टो, लोकार्नो, बुसान लगायतका महोत्सवमा छानिनुका साथै यसले सिंगापुर र पाम स्प्रिंग्समा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो।
‘राजागंज’ भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएसँगै फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, बेलायत लगायतका देशहरूमा प्रदर्शन अधिकार प्रतिष्ठिन कम्पनीहरूलाई बिक्री गरिसकेको जनाइएको छ।
अभिनेता दयाहाङले फिल्मबारे भनेका छन् ‘दीपक र मैले छैटौैं पटक सहकार्य गरेका छौं। र, यो फिल्म आर्ट र कमर्सको उत्कृष्ट संगम हो। यसको मेकिङ, टेक्निकल लेयर्स र प्रस्तुति उच्चस्तरको छ।’