जाडोको समयमा धेरै अभिभावकको चिन्ता एउटै हुन्छ, आफ्ना बालबालिकालाई कसरी चिसोबाट जोगाउने? चिसोको समयमा बच्चा बिरामी भइहाल्छन् कि वा निमोनिया हुन्छ कि भन्ने डर सबै अभिभावकमा हुन्छ। गर्मीको समयमा भन्दा जाडोको समयमा अस्पतालमा बिरामीको चाप कम हुने भनिए पनि जाडोमा बालबालिकामा चिसोका कारण हुने समस्या भने बढी नै हुने गर्छ।
जाडो महिनामा बालबालिकाहरुलाई राम्रो हेरविचार गरिएन भने उनीहरुमा रुघाखोकी, सिजनल फ्लु, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छ । त्यसैगरी, हातखुट्टा फुट्ने र छाला खस्रो हुने समस्या बढी मात्रामा देखिन्छ । यस्ता समस्या देखिनुको मुख्य कारण भनेको संक्रमण नै हो । यस्तो संक्रमणबाट जोगाउन सकिएन भने उनीहरुमा निमोनिया भइ मृत्यु हुने खतरा समेत हुन्छ । जाडोको समयमा बालबालिकामा सरसफाइमा पनि विशेष ध्यान दिनुपर्छ ।
बालबालिकालाई तातो लुगा लगाइदिने तथा सागसब्जी र तातो झोलिलो खानेकुरा खान दिनु पर्छ । उनीहरुलाई चिसो मौसममा फल्ने सुन्तला, जुनार लगायतका फलफुल खान दिदैँनौ । तर, त्यस्ता फलफुल थोरै थोरै गरेर घाममा राखेर खुवाउँदा उनीहरुको छाला सुख्खा हुने समस्या आउँदैन । बालबालिकालाई लामो समयसम्म हिटर बालेर राख्नु हुँदैन । चिसोले विशेष गरेर नवजात शिशुलाई धेरै सताएको देखिन्छ । नवजात शिशुलाई न्यानो पारेर राख्नुपर्छ । तर न्यानो पारेर राख्ने भन्दैमा सिरकले पुरै नाक मुख ढाकेर गुम्स्याएर राख्ने गरेको पाइन्छ । त्यस्तो गर्नुहँुदैन । धेरैले बालबालिकालाई चिसो लाग्न नदिन कोठामा आगो बाल्ने, हिटर बाल्ने र झयाल ढोका पुरै बन्द गरेर हावा जाने ठाउँ नराखी गुम्स्याउने गर्दछन् । त्यसो गर्दा झन् गुम्सिएर स्वासप्रश्वास सम्बन्धी समस्या बढेर आउँछ ।
नवजात शिशु राख्ने कोठालाई २५ देखि २८ डिग्री तापक्रममा राख्नु पर्दछ । तर, कोठामा हावा आवतजावत गर्ने ठाउँ हुनुपर्छ । बालबालिकामा रुघा सर्ने जोखिम बढि हुन्छ । त्यसैले घरमा कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकाभन्दा टाढा बस्नु पर्दछ । जाडोमा बालबालिकामा रोग प्रतिरोध क्षमता कम हुन्छ । जाडोमा उनीहरुलाई भिटामीन डि को पनि कमि हुन्छ ।
विहान र वेलुकाको चिसो हावामा बालबालिकालाई घर बाहिर निस्कन नदिने
–घाममा राख्दा समय समयमा पानी खुवाउने ।
–कालो चिया दिने ।
–मालिस गर्दा घाममा राखेर मात्र गर्ने ।
–न्यानो कपडा लगाईदिने ।
–मौसमी फलफुल खुवाउने ।
–हिटर बालेर लामो समयसम्म नराख्ने ।
–झोलिलो खानेकुरा खुवाउने ।
– नवजात शिशुको कपडा समय समयमा फेर्ने ।
जाडोको समयमा श्वास फेर्न गाह्रो हुने, कोखा हान्ने, खोकी निरन्तर लाग्यो, एकदमै छिटो छिटो सास फर्ने, बच्चा सुत्नै नसक्ने अवस्थामा भयो भने अस्पताल जानुपर्छ।










