रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल (रिटेनिङवाल) भत्किँदा पाँच जनाको मृत्यु भएको छ। सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार मृतकमध्ये चार जनाको शव निकालिएको छ। दुई महिला र दुई पुरूषको  शव निकालिएको प्रहरीको भनाइ छ। थप एक जनाको खोजी भइरहेको उनले जानकारी दिए।

टेवा पर्खाल भत्किएर उनीहरू पुरिएका थिए। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो।  रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले चार जना मृतकको पहिचान खुलेको बताए।

सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार र २७ वर्षीया आइती परियारको मृत्यु भएको उनले बताए। पर्खाल भत्किएर पुरिएका एक जनालाई बाहिर निकाल्न बाँकी छ। यो पुल निर्माणमा सात जना खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर