बैदेशिक रोजगारीमा गएका नेपालीहरु कार्यस्थलमा हुने दुर्घटनामा पर्ने क्रमसंगै गम्भीर रोगको शिकार हुने क्रम पनि डरलाग्दोसँग बढेको छ । गम्भीर रोगहरुमध्ये मनोरोग, मुटु र मृगौलाका रोग मुख्य रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वास्थ्य अवस्था बारे अध्ययन गर्न सरकारले गत भदौमा गठन गरेको एउटा उच्च स्तरिय कार्यदलले दिएको प्रतिवेदनबाट त्यस्तो रहस्य खुलेको हो ।

बैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्षमा १ हजार ३ सय ४६ श्रमिकहरूले विदेशमा ज्यान गुमाएका थिए । त्यसमध्ये १३७ जना मनोरोगका कारण आत्महत्या गरेको, मुटुसम्बन्धी रोगका कारण ८०, गम्भीर रोग लागेको तर रोग नखुलाइएका ९३, क्यान्सरका कारण ३७, कार्यस्थलमा दुर्घटनाका कारण ४७, मिर्गाैला रोगका कारण छ र कोभिडका कारण चार जनाको ज्यान गएको छ भने बाँकी सडक दुर्घटना लगायतका विभिन्न कारणबाट मृत्यु भएकाहरु छन् ।

नेपालबाट बैदेशिक रोजगारीको लागि जाँदा स्वस्थ्य अवस्था राम्रो रहेकाहरु पनि विदेशमा जान साथ विभिन्न रोगको शिकार हुने क्रम बढ्दो छ । वैदेशिक रोजगारी रहेका बेला वा स्वदेश फर्केपछि मिर्गाैला, मुटुको साथै मानसिक रोगबाट पीडित हुनेहरु पनि निकै रहेको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।

नेपाली श्रमिकको कार्यस्थल र उनीहरूको जीवनशैलीका कारण मिर्गाैलासम्बन्धी समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । चर्काे गर्मीमा पनि काम गर्नु पर्ने, आराम नगरी लगातार काममा खट्नु पर्ने, पानी पिउन र अन्य खाना तथा सुताईलाई व्यवस्थित गर्न नसक्दा वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीहरुको स्वास्थ्य अवस्था विग्रने गरेको बताइएको छ ।

त्यसमाथि वैदेशिक रोजगारीमा जादा घर, परिवारको तनाव र आफ्नै व्यवहारिक तनावलाई व्यवस्थापन गर्न नसक्दा मानसिक रोगी भई आत्महत्या गर्ने गरेको कार्यदलले केही दिन अघि श्रममन्त्री शरतसिंह भण्डारीलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलकी सदस्य सचिवसमेत रहेकी श्रम मन्त्रालयकी उपसचिव शारदा राउतका अनुसार बैदेशिक रोजगारीमा जाने नेपालीहरुको स्वास्थ्य समस्याहरूलाई गम्भीरतापूर्वक लिएर समस्या समाधानका लागि योजनाहरू बनाउन तथा नीति तथा नियम परिमार्जन गर्न पनि प्रतिवेदनमा सुझाव दिइएको छ ।

नेपालमा हाल वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने २१५ वटा संस्था सूचीकृत भएका छन् । तिनीहरुले दिने कामदारको स्वास्थ्य सम्वन्धि रिपोर्टहरु माथि नै बेला बेलामा प्रश्न उठ्ने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर