मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात आफूले नबनाएको बयान दिएका छन्।

कम्बोडियामा बस्ने एक नेपालीले आफूलाई फोन गरी ओलीले लगानी गरेको विषयमा बताएको र सोही आधारमा आफूले बोलेको प्रसाईंले सरकारी वकिल कार्यालय काठमाडौंले लिएको बयानमा भनेका हुन्।

‘एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरेका थिए। खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए।

त्यसो भए तपाईसँग के प्रमाण छ भनि उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली बिजनेश फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए,’ प्रसाईंले बयानमा भनेका छन्, ‘त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेऊ भनेकोमा उनले पठाइदिए। यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन।’

प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार साढे ७ वर्षसम्मको कैद सजाय माग गर्दै काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार सजाय र दोहोर्‍याएर पुन: सोही अपराध गरेको भन्दै डेढी सजायको माग गरेको थियो। त्यसो हुँदा अधिकतम सजाय भएमा उनलाई साढे ७ सम्म हुन सक्नेछ।

प्रसाईंविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोले उनीमाथि संगठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान गरिरहेको छ। उनले व्यावसायीलाई धक्याउनका लागि भारतमा नेपाली परिचालन गरेर रकम माग गर्न लगाएको आरोप थियो।

त्यसमा एक जना नेपाली पक्राउ परेसँगै घटनामा प्रसाईंको संलग्नता खुलेको थियो। प्रसाईं गत मंसिर ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए।

प्रसाईंले सरकारी वकिल कार्यालय काठमाडौंमा दिएको बयान;

नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउँदो भ्रष्टाचार, चरम आर्थिक संकट, युवाहरू विदेश पलायन, सामान्य नागरिकले महँगीको मारमा झेल्नु परेको पीडा पीरमर्कालाई बुझी नेपालीहरूको अभिभावकको रूपमा मैले विगत तीन वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानको रूपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु।

सो कार्यहरू गर्नमा अवरोध सिर्जना गर्ने नेपालका वर्तमान संघीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिँदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको छु।

हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत ‘कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्गप्रसाद ओलीले २१ करोड अमेरिकी लगानी गरेको त्यसको नेपाली अन्दाजी रू. साढे ३२ अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो बिषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरेका थिए।

खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए। त्यसो भए तपाईसँग के प्रमाण छ भनि उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली विजनेस फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए।

त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेउ भनेकोमा उनले पठाइदिए। यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन।

गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, न त हाम्रो देशका प्रधानमन्त्री ठूलो व्यापारी, न त ठूलो व्यवसायी, न त ठूलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनतासामु प्रष्ट पारौं भन्ने उद्देश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेस मिट गरेँ।

त्यस क्षणमा मैले ‘यहाँका नेताहरूको पैसा कम्बोडिया, मंगोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुवई, सिंगापुरमा छ। मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो मलाई यिनीहरूले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाई बिग्दैन, संसारमा दुर्गा प्रसाईं मर्छ, बिग्दैन।

संसारमा दुर्गा प्रसाई झुक्छ, तर बिग्दैन किनभने मैले नेपालीहरू रोएको, नेपाली चेलिबेटीहरू रोएको देखेको छु’ भन्ने लगायतको शब्दहरूमा बोल्दै सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीले कम्बोडियामा लगानी गर्नु भएको रकम सहितको कागजातहरू देखाएको थिए।

सोसँग सम्बन्धित विषयमा संवाद गर्दै गर्दाको भिडिओलाई मैले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुकबाट ‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र… ….’ भन्ने लगायतको स्टाट्सहरूको साथमा भिडिओ समेत अपलोड/पोष्ट गरेको हुँ।

प्रतिक्रिया

सम्बन्धित खवर