राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भन्दै फेरी म्याद थप्ने तयारी गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीबाट प्राप्त अनुसन्धान प्रतिवेदन अध्यन गरी अभियोजन पत्र तयार गर्न समय लाग्ने भन्दै फेरि म्याद थप्न लागेको हो।

उनलाई हिरासतमा राख्न पछिल्लो पटक गत मंसिर २७ गते दिएको ५ दिन समय सकिएसँगै मंगलबार म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता विपिनराज तिवारीका अनुसार अभियोजन पत्र तयार गर्न समय लाग्ने भएको म्याद थप्न लागिएको बताए।

‘आज अभियोजन जाँदैन, थप म्याद माग्छौं,’ उनले भने, ‘हामीसँग अब हिरासतमा राख्न ४ दिन समय छ, त्यति नै समय अदालतसँग माग्छौं।’

पोखराको सुर्यदर्शन सहकारी ठगी अभियोगमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई पोखरा ल्याइएको थियो। त्यसपछि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने भन्दै ७ पटक अदालतबाट म्याद लिएको छ। मंगलबार आठौं पटक थप म्याद माग्न लागेको सरकारी वकिलको कार्यालयले जनाएको छ।

लामिछानेसँगै अनुसनधानका लागि पूर्व डिआइजी छविलाल जोशी, रामप्रसाद खनाल, लिला पछाई र कृष्णबहादुर गुरुङ प्रहरीको हिरासतमा छन्।

उनीहरु विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन अनुसार अनुसन्धान गरिएको छ। सहकारी ठगीमा पक्राउ गर्दा २५ दिनभित्र, संगठित अपराधमा ६० दिनभित्र र सम्पत्ति शुद्धिकरण ऐनमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ।

प्रतिक्रिया

सम्बन्धित खवर