सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशकको दोस्रो कथानक फिल्म घोषणा भएको छ । डेब्यु फिल्मले नै कीर्तिमान रचेपछि सरोज पौडेलले ‘कोशेढुंगा’ फिल्म ल्याउन लागेका हुन् ।

आइतबार फिल्मको थिम पोस्टर सार्वजनिक भएको छ । जहाँ एक महिला घुर्मैलो बिहानीमा क्षितिजतिर हेरेर टोलाएकी छन् । पोस्टरले उनको चरित्र मनोदशालाई दर्शाउँछ ।

सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको सेटिङ कुनै एक गाउँमा हुने थिम पोस्टरमार्फत बुझ्न सकिन्छ । यो फिल्म २०८२ सालमा हलमा रिलिज हुने जनाइएको छ ।

नरदेवी फिल्म्सको प्रस्तुति रहने फिल्ममा हरि महत र प्रेविल कँडेल निर्माताको रुपमा हुनेछन् । दिनेश खड्का कार्यकारी निर्माताको रुपमा छन् । बाबु श्रेष्ठको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन हुनेछ ।

‘कोशेढुंगा’मा आशिष अविरल र रिदम कँडेलको संगीत रहनेछ । यसअघि अविरलले ‘पूर्णबहादुरको सारङ्गी’मा पनि संगीत दिएका थिए । चाँडै कलाकारबारे जानकारी दिने बुझिएको छ ।

कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् । फिल्मको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन । ‘पूर्णबहादुरको सारङ्गीलाई जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौं,’ निर्देशक पौडेलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर