बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
शुक्रबार मुम्बईको बान्द्रा प्रहरीले एक व्यक्तिलाई हिरासतमा लिएको हो। ती व्यक्तिसँग प्रहरीले सोधपुछ गरिरहेको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ।
प्रहाका अनुसार सैफलाई छुरा प्रहार गरेपछि ती व्यक्ति सिसिटिभीमा बान्द्रा रेलवे स्टेसन नजिकै देखिएका थिए। उसै इलाकाबाट उनलाई प्रहरीले हिरासतमा लिएको हो।
ती व्यक्ति १५ जनावरीको राति २:३० बजे सैफको घरको छठौं तलाबाट तल झरिरहेको देखिएका थिए।
यस हमलामा अभिनेता सैफको जिउमा ६ वटा चोट लागेको छ। तीमध्ये दुइटा चोट गहिरो रहेको डा. निरज उत्तमानीले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।
एउटा चोट घाँटीनजिक र अर्को चोट मेरूदण्ड नजिक रहेको उनले बताएका छन्। सैफको उपचारमा तीन जना चिकित्सक खटिएका छन्।
मेरूदण्ड नजिकको चोट निकै गहिरो भएको र त्यहाँ १० वटा टाँका लगाइएको अर्का डाक्टरले भनेका छन्। यद्यपि सैफको मेरूदण्डमै असर भने नगरेको उनले बताएका छन्।
घटना भएको समयमा सैफकी श्रीमती करिना कपुर घरमा थिइनन्। सैफ सहयोगी र दुई छोराहरूसँग घरमै थिए। करिना आफ्नी दिदी करिश्मासँग एक पार्टीमा रहेको भनिएको छ।
एक व्यक्ति घरमा प्रवेश गरेपछि सैफका सहयोगीले रोक्ने प्रयत्न गरेका थिए। त्यसपछि सैफ आफै ती व्यक्तिलाई रोक्न जाँदा छुरा प्रहार गरेर भागेको भनिएको छ। त्यस क्रममा सैफ र ती व्यक्तिबीच केहीबेर घम्साघम्सी भएको थियो।










