राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरूद्धको थुनछेक बहस सुरू भएको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगमा लामिछानेविरूद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको थियो।

सोही मुद्दाको विषयमा अहिले जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा उनीविरूद्धको थुनछेक बहस सुरू भएको हो। न्यायाधीश योगीले लामिछानेसँग बुधबार लिएपछि बिहीबार साढे ११ बजेदेखि थुनछेक बहस सुरू भएको हो।

अहिले सरकारी वकिलको कार्यालय र सहकारी पीडितका तर्फबाट बहस सुरू भएको हो। त्यसपछि बल्ल लामिछानेको तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन्।

लामिछानेले हिरासतभित्र बसेर मुद्दा लड्ने वा बाहिर बसेर लड्ने भन्ने विषयमा थुनछेक बहस सुरू भएको हो। बिहीबार पीडितका पक्षबाट बहस सकिए शुक्रबार प्रतिवादीतर्फका वकिलहरूले बहस गर्नेछन्। शुक्रबारसम्म जबाफी बहस सकियो भने सोही दिन लामिछाने आदेश आउने छ। यदि सकिएन भने बहस लम्बिन सक्छ।

मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह–न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, सहन्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गर्नेछन्। त्यस्तै, सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्नेछन्। भण्डारीले लामिछानेलाई हिरासतमा पठाउनुपर्ने आफूहरूको जोड रहने बताए।

उनीहरूको बहस सकिएलगत्तै प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी सहितले बहस गर्ने तयारी छ। इजलासमा पीडितले पनि बोल्न पाउनुपर्ने माग आफूहरूले गरेको सुप्रिम सहकारी पीडित संघर्ष समितिका संयोजक विजयकुमार नेपालले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर