
भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्तीको विशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ ।
लुम्बिनी विकास कोषले बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ देखि ३० गतेसम्म तीन दिन बुद्धजयन्ती मनाउने र आज लुम्बिनीमा मूल समारोहको तयारी गरेको हो ।
कोषका उपाध्यक्ष डा ल्यारकाल लामाले वैशाख २८, २९ र ३० गते तीन दिन उत्सवका रूपमा बुद्ध जयन्ती मनाइने र आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न देशका कूटनैतिक व्यक्तिहरू सहभागी हुने जनाए । प्रधानमन्त्री ओली ९ बजे हेलिकप्टरबाट लुम्बिनी आउने उनले बताएका छन् ।
गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको लामाले बताए । गौतम बुद्धको जन्म २६४९ वर्षअघि ईपू६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने कोषका कोषाध्यक्ष एबं प्रचार संयोजक भट्टराईले बताए । विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय तथा प्रदेश मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा, र प्रदेशसभा सदस्यज्यूहरूसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरूको समेत सहभागिता रहने उनले बताए ।
तीन दिने कार्यक्रम अन्तर्गत वैशाख हिजो २८गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ भएको छ भने आज बिहानैदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान ५ नम्बर गेटबाट शोभा यात्रा भएको छ ।
यसका साथै बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचीन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरूसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने छ । लुम्बिनीबाट कपिलवस्तुसम्म मायादेवी मार्ग हुँदै बुद्धकालीन अवस्थाको झल्को दिने गरी शोभा यात्रा गरिने कोषका वरिष्ठ सूचना अधिकारी डा हरिध्वज राईले बताए ।
यस्तै बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाइ कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव लगायतका कार्यक्रमहरू आयोजना गरिने उनले बताए ।
बुद्धको ज्ञानको महत्त्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीहरूलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न लुम्बिनी विकास कोषले अपिल गरेको छ ।
बुद्धजयन्तीको भोलीपल्ट वैशाख ३० गते वर्षेनि हुँदै आएको बोधिसत्त्व सिद्धार्थको शोभा यात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ ।