नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेका जानकारी दिए ।
उनका अनुसार बि.सं. २०७८ साउन १ देखि बि.सं. २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उनले उल्लेख गरे ।
“घर गोठ र अग्ला टावर चट्याङको निशानामा पर्दछन् । बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण चट्याङबाट बढी प्रभावित हुने गरेका छन् । चट्याङका घटना कोशी प्रदेशमा बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएका छन्”, प्राधिकरणकी सहसचिव श्रेष्ठले भने ।
विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका उनले जानकारी दिए । कोशीमा चट्याङका कारण रु. एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् ।










