‘प्रिमनसुन’ अवधिमा भइरहेको वर्षाले यस वर्ष गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् । गत वर्ष वैशाख तेस्रो सातासम्ममा चार सय ६७ स्थानमा डढेलो लागेकामा यस वर्ष हाससम्म एक सय ९६ स्थानमा डढेलो लागेको प्रदेश वन निर्देशनालयले जनाएको छ । निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाका अनुसार यस वर्ष झण्डै २३ सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।
गत वर्ष डढेलोबाट आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको थियो । डढेलोको उच्च जोखिम हुने समयमा वर्षा भएपछि डढेलो नियन्त्रण गर्न सहज भएको वन अधिकृत थापाले बताए । “सुख्खा याम लम्बिँदा डढेलोका घटना धेरै बढ्ने हुन्छ, यो वर्ष पानी परिरहेकाले त्यो अवस्था आएन, डढेलोबाट हुने क्षति कम भयो, प्रदूषण पनि व्यापक हुन पाएन”, उनले भने।
यो वर्ष सबैभन्दा बढी नवलपुरको ३७ स्थानमा डढेलो लागेको वन अधिकृत थापाले जानकारी दिए । सबैभन्दा कम मुस्ताङ र मनाङका एक/एक स्थानमा डढेलो लागेको हो । गोरखाका ३४, म्याग्दीका २८, कास्कीका २७, लमजुङका २१, स्याङ्जाका १७, तनहुँ र पर्वतका १२/१२ र बागलुङका छ स्थानमा डढेलो लागेको हो । डढेलोबाट गौशाला, घर गोठ, काठ र रूखबिरूवामा क्षति पुगेको वन निर्देशनालयले जनाएको छ ।










