ताप्लेजुङमा एमाले कार्यकर्ता र पहिचानवादी समूहबिच सामान्य झडप भएको छ । नेकपा एमाले ताप्लेजुङले आइतबार राखेको चियापान कार्यक्रममा सचिव योगेश भट्टराई पुगेपछि पहिचान पक्षधरले विरोध गर्दै अवरोधको प्रयास गर्दा भनाभन र झडप भएको हो ।
चियापान कार्यक्रममा एमाले सचिव योगेश भट्टराई, प्रदेश सांसद तिलकुमार मेन्याङवोलगायत सहभागी हुन गएका थिए । नेता भट्टराईलाई जिल्ला प्रवेश गर्न नदिने घोषणा गरेका पहिचानवादीले भटट्राई कार्यक्रममा सहभागी हुन आएको भन्दै अवरोध गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले एमाले जिल्ला पार्टी कार्यालय अगाडी दुवै पक्षबीच भनाभनपछि सामान्य धकेलाधकेल भएको बताए । ‘बिहान दुवै पक्षका कार्यकर्ताबिच सामान्य भनाभनपछि धकेलाधकेल भएको हो, पछि सामान्य भयो’, प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ । पोखरेलले भनाभनपछि एमाले जिल्ला पार्टी कार्यालय अगाडी पहिचानवादीले कोण सभा गरेर हिँडेको बताए ।
‘दुवै पक्षका कार्यकर्ता जम्काभेट भएपछि सामान्य भएको हो । अहिले स्थिति सामान्य छ’, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बुले भने, ‘झडपमा कोही पनि पक्राउ परेको खबर छैन ।’