राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनमा उत्रिएका राजावादी नेताहरूले आन्दोलन नछाडेसम्म अंगरक्षक (पीएसओ) नपाउने भएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले राजावादी नेताहरूका अंगरक्षकहरू फिर्ता बोलाइनु परेको कारणबारे गृहमन्त्री रमेश लेखकसँग प्रश्न गरेका थिए।
प्रश्नको जवाफमा गृहमन्त्री लेखकले आन्दोलनका कारण सुरक्षाको प्राथमिकता फेरिनु परेको बताए। उनले भने, “हजुरहरूले गर्ने घटनामा (आन्दोलनमा)बढी सुरक्षा आवश्यक पर्यो, ती सुरक्षाकर्मीहरूलाई तत्कालका लागि त्यतै खटाइएको हो। आन्दोलन शान्त भएपछि व्यक्तिगत सुरक्षाका लागि फेरि खटाइनेछ।”
राजावादी नेताहरूको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीहरू आन्दोलन तीव्र बनेपछि सरकारले फिर्ता बोलाएको हो। गृहमन्त्री लेखकले आन्दोलनका क्रममा सार्वजनिक सुरक्षा महत्त्वपूर्ण हुने भएकाले व्यक्तिगत सुरक्षा खटाउने स्थिति नरहेको स्पष्ट पारे। उनले भने, “संविधानका आधारभूत व्यवस्थाहरू गणतन्त्र, संघीयता र लोकतन्त्रबाट पछाडि फर्किन सकिँदैन। संविधान उल्ट्याउने वा फाल्ने कोसिस कसैले पनि गर्नु हुँदैन।”
गृहमन्त्रीले आन्दोलनमा हिंसात्मक गतिविधि भएमा त्यसअनुसार सुरक्षा संयन्त्र परिचालन गरिने पनि बताए।










