मनसुन सुरु हुने बेलामा सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै गृहमन्त्री रमेश लेखकले सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।
पछिल्ला दिनहरूमा गृहमन्त्री लेखक स्वयंले विपद् प्रतिकार्य तयारीका विभिन्न पक्षहरूको अनुगमन र समन्वय कार्यलाई तीव्रता दिएका छन्।
गत वर्षको बाढी तथा पहिरोले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएको सन्दर्भमा यस वर्ष अझ गम्भीर जोखिमको पूर्वानुमान भइरहेका बेला गृह मन्त्रालयले प्रतिकार्य संयन्त्रलाई सक्रिय बनाउने प्रयास थालेको हो।
पछिल्ला तीन दिनमा गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा पुगेर आवश्यक पूर्व तयारीका गतिविधिहरूको अवलोकन गरेका छन्।
निरीक्षणका क्रममा उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा जुनसुकै बेला जेसुकै हुन सक्छ भन्ने मानसिकतामा रहन सबैलाई आग्रह गरे। “हामी मनसुनको पूर्वसन्ध्यामा छौँ। अब बाढी र पहिरोको जोखिम बढ्नेछ।
त्यसको पूर्व तयारी आजैदेखि गर्नुपर्छ”गृहमन्त्री लेखकले भने। उनले सशस्त्र प्रहरी मुख्यालयमा विपद् व्यवस्थापनको जिम्मेवारी थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिँदै सम्भावित जोखिम क्षेत्रतर्फ समयमै परिचालन र तयारीका लागि सतर्क रहन आग्रह गरे।










