
काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चन्द्रविनायक तथा भैरवनाथ जात्रा सञ्चालन हुने ठाउँहरुको अवलोकन गरेका छन् । जात्राको पहिलो दिन सोमबार राति बालेनले चारुमती बिहार, गणेशस्थान, कुटुबहाललगायत क्षेत्रका बारेमा जानकारी लिएका थिए ।
वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगतका अनुसार जात्राको पहिलो दिन गुठीयार पूर्ण संगतको घरबाट भैरवको र सानुकाजी शाक्यको घरबाट गणेशको मूर्ति गणेशस्थान परिसरमा ल्याएपछि गणेश मन्दिर अगाडि आगो बालेर धुनी जगाइएको छ । धुनीको लागि पशुपतिको अमालकोट कचहरीले दाउरा, मुढा उपलब्ध गराउने परम्परा छ ।
यसरी जगाइएको धुनी तापे चिसो नलाग्ने, चिसो लागिसकेको भए यसको असर हराउने, घुँडा दुख्ने, सरीर दुख्ने समस्या समाधान हुने जनविश्वाश रहेको संगतले बताए ।
आज खट निकालिँदै हिजो धुनीबाले सुरु भएको जात्राको दोस्रो दिन आज खट निकाल्ने दिन हो । आज गणेश र भैरवको खट निकाल्ने, गणेश मन्दिर परिसरको सरसफाइ गर्ने कार्यक्रम रहेको ७ नम्बर वडाध्यक्ष विमल होडाले जानकारी दिए ।
‘आज पशुपति अमालकोट कचहरीबाट पूजा ल्याउने, कचहरीको द्वारेबाट सिन्दुर चढाउने, गुठीयार श्री प्रधानको घरबाट मूल पूजा ल्याउने, खट उठाएर नचाउने र गणेशसँग गहना माग्न लगाउनेलगायत क्रियाकलाप हुन्छन्,’ उनले भने ।
देवतालाई गंगाहिटीमा मुख धुन लैजाने, गणेश स्थान चौरमा खट नचाउने, मन्दिरको दक्षिण गेट, पूर्व गेट तथा गल्लीमा खट राख्दै बहालमा ल्याएर विसाइन्छ । विहीबार ८ बजे बहालबाट खट उठाएर खट यात्राका क्रममा नाट्येश्वर मार्ग, मुसे गणेशस्थानमा बिसाइन्छ ।
भैरवको खटलाई कुटुबहालमा बिसाएर गणेशको खटलाई पशुपतिनाथको मन्दिरमा लगिन्छ । यस क्षेत्रका मुसे गणेशस्थान, मित्रपार्क, जयबागेश्वरी, इटापाखा, नवाली टोल, ताम्रेश्वर महादेवमा खट लगिन्छ । सिफल चौरमा ल्याएर खेलाउने र ठोक्काउने गरिन्छ ।
यसपछि गंगाहिटी, चावहिल चोक, धारा मार्ग, शान्ति गोरेटो चोक, चुच्चेपाटी चोक, मनमैजु जाने बाटो, वाँःहिटी चोक, चारुमती बहाल पछाडिको चोक, बहालमा रहेको इनारको अगाडि, बहालको पश्चिम कुनामा खट लगेर राखिन्छ । यसलाई उठाएर बहालको परिक्रमा गराइन्छ र डबलीमा लगेर बिसाइने परम्परा रहेको छ ।
देउतालाई बुधबार बिमिरो, सगुन र मसला दिने र बेलुका ९ बजे गणेश र भैरवको पूजा गरेर दीपावली गरिनेछ । यस्तै बिहीबार सिन्दुर जात्रा हुन्छ । यसका लागि दिउँसो १२ बजे सांस्कृतिक बाजागाजासहित बहालमा भेला हुने कार्यक्रम छ ।
यसपछि खट उठाएर चारुमती बहाल, गणेशस्थान, चावहिल चोक, चुच्चेपाटी, मुसे गणेशस्थान, मित्रपार्क, कुटुबहाल, गणेशस्थानबाट चारुमती बहाल हुँदै सम्बन्धित पालाको घरमा देउता पुर्याउने कार्यक्रम रहेको जात्रा समन्वय समितिले जानकारी दिएको छ ।