ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाइको मागसहित पहिचान पक्षधर समूहले गरेको बन्दका कारण मेची राजमार्ग आज बिहानैबाट ठप्प भएको छ ।
‘कोशी’ नामविरुद्ध आन्दोलन गरिरहेको ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका कारण मङ्गलबार बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको हो । दुई दिनअघि ताप्लेजुङमा नेकपा (एमाले) सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराई सवार सवारी साधनमा तोडफोड गरेको अभियोगमा प्रहरीले दुई जना पहिचानवादी कार्यकर्तालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका कार्यकर्ता बिना सर्त रिहाइको माग गर्दै राजमार्ग बन्दको घोषणा गरिएको छ । बन्दका कारण मेची राजमार्गको झापा,इलाम, इलाम,फिदिम र फिदिम ,ताप्लेजुङ सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैन । बन्द कर्ताको अवरोधका कारण इलामको जिरो किलोमिटर लगायतका क्षेत्रमा यातायातका साधन रोकिएका छन् । प्रहरीले पहिचान पक्षधर पाथीभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई यही मङ्सिर ११ गते पक्राउ गरेको थियो ।
आन्दोलन समूहका नेता राम लिङद्मले पक्राउ गरिएका कार्यकर्ता रिहाइ नभएसम्म सडक खुल्न नदिइने बताउनु भयो । यता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी बासदेव खतिवडाले बन्दको खासै प्रभाव नरहेको जानकारी दिनु भयो । उहाँले यात्रुको सुरक्षाका लागि स्कटिङको व्यवस्था गरिएको पनि बताउनुभयो ।