
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गत २४ घण्टामा २०० मिलिमिटर वर्षा भएको छ । अत्तरियास्थित महाकाली बेसिनका प्रमुख इन्जिनियर संजयकुमार साहका अनुसार यो वर्षामा धनगढीमा यति धेरै पानी पहिलो पटक परेको हो ।
धनगढीमा आइतबार दिउँसाेदेखि पानी परेको थियो । तर भारी वर्षा बिहान ४ बजेबाट हुन थाल्यो इन्जिनियर साहले भने, “अहिले पनि धनगढीमा पानी परिरहेको छ, रातिबाट कम हुने छ ।”
उनका अनुसार धनगढीभन्दा बढी कञ्चनपुरको बेलौरीमा पनि २४ घण्टामा २६४.६ मिलिमिटर वर्षा भएको छ । कञ्चनपुरकै कृष्णपुर खल्लाकोटमा पनि १८४ मिलिमिटर वर्षा भएको छ ।
महाकाली बेसिनले सुदूपश्चिमका नौ वटै जिल्लामा मध्यम र हल्कास्तरको वर्षा भइरहेको छ । सुदूरश्चिममा यो साताभर मध्यमस्तरको वर्षा भइरहने पनि सो कार्यालयले जनाएको छ ।
वर्षाले दोदा नदीको बहाव बढेको छ । धनगढी लगायतका क्षेत्रमा भइरहेको वर्षाले मोहना नदी वरपरका बस्तीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार धनगढी विमानस्थलको स्टेसनमा पछिल्लो २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ । विभागले खतराको सङ्केत नै जारी गरेको हो ।