नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ।
महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत वीरगञ्ज इजलासको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको हो।
कार्यालयले आलमसहितका सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै पुनरावेदन गरेको जनाएको छ। साथै, जिल्ला अदालतबाट सफाइ पाएका केही आरोपितलाई समेत दोषी ठहर गरिनु पर्ने माग गरिएको छ।
२०६४ सालको संविधानसभा निर्वाचनताका रौतहटमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा आलमसहितका व्यक्तिहरूलाई पक्राउ गरिएको थियो। घटनामा घाइते भएका व्यक्तिहरूलाई इँटा भट्टामा हालेर हत्या गरिएको आरोप उनीहरूमाथि लागेको थियो।
गत जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमसहित सबै आरोपितलाई प्रमाण अभावमा सफाइ दिएको थियो। त्यस फैसलापछि आलोचना चुलिएको थियो।
स्रोतका अनुसार, सरकार निर्णयसँग असहमत रहेकाले न्यायिक पुनरावलोकनका लागि सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको हो। अब सर्वोच्च अदालतले पुनरावेदनमाथि प्रारम्भिक सुनुवाइपछि फैसलाको पुनरावलोकन गर्नेछ।










