शिखर इन्स्योरेन्स लिमिटेड (SICL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको यस्तो नाफा ४४ करोड ५३ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३१.९१ प्रतिशत बढेको छ भने कुल आम्दानी ११.७५ प्रतिशत बढेको छ।

त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २१.९५ प्रतिशत र कुल खर्च १४.७२ प्रतिशत बढेको छ। नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसा घटेर १५ रुपैयाँ ४९ पैसामा सीमित भएको छ।

गत असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९।९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९७ पैसा रहेको छ। २ अर्ब ९२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १६ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २१ करोड १७ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड ६६ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर