प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदलाई बलियो बनाउने उद्देश्यका साथ कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग औषधि खरिदका लागि सम्झौता गरेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालको सबैभन्दा पुरानो र एकमात्र सरकारी औषधि उत्पादक सिंहदरबार वैद्यखाना विकास समितिसँग २ करोड २० लाख रुपैयाँ बराबरको औषधि खरिद गर्ने सम्झौता गरेको हो ।

यो सम्झौतासँगै सिंहदरबार वैद्यखानासँग सरकारी–सरकारी (जीटुजी) मोडलमा सिधै औषधि खरिद गर्ने कोशी देशको पहिलो प्रदेश बनेको छ । सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिको तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौताले प्रदेशभित्रका नागरिकलाई गुणस्तरीय र भरपर्दो आयुर्वेदिक औषधि सहज रूपमा उपलब्ध गराउने मार्ग प्रशस्त गरेको छ ।

चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २ करोड २० लाख रुपैयाँ बजेटबाट मन्त्रालयले वैद्यखानाद्वारा उत्पादित २३ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधि खरिद गर्नेछ । यो बजेट तीन मुख्य स्रोतबाट जुटाइएको हो, जसमा आपूर्ति व्यवस्थापन केन्द्र कोशीका लागि ६३ लाख, जिल्ला आयुर्वेद अस्पतालहरूका लागि ६७ लाख र संघीय सरकारबाट प्राप्त अनुदानको ९० लाख रुपैयाँ समावेश छ ।

यो खरिद प्रक्रिया पारदर्शी र प्रभावकारी मानिने ‘जीटुजी’ (सरकारदेखि सरकार खरिद प्रक्रिया) मार्फत हुनेछ । यसले सार्वजनिक खरिदमा देखिने झन्झटिलो र ढिलासुस्तीको प्रक्रियालाई छल्दै छिटो र सुलभ रूपमा औषधि आपूर्ति सुनिश्चित गर्ने मन्त्रालयको दाबी छ ।

कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको र सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । ‘हामीले जनतालाई वितरण गर्ने औषधि गुणस्तरीय हुनैपर्छ ।

सिंहदरबार वैद्यखाना नेपालको गौरव हो र यसको आफ्नै ऐतिहासिक विरासत छ,’ मन्त्री राईले भने, ‘त्यसैले हामीले टेन्डर प्रक्रियाको झन्झटमा नपरी सिधै वैद्यखानासँग सम्झौता गरेका हौँ । यसले पारदर्शिता सुनिश्चित गर्छ र जनताले उत्कृष्ट औषधि पाउँछन् ।’

उनले यो सम्झौता कोशी प्रदेशको आयुर्वेद स्वास्थ्य क्षेत्रका लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र सिंहदरबार वैद्यखानाबिचको यो सम्झौताले प्रदेशमा आयुर्वेदिक स्वास्थ्य सेवालाई सुदृढ गर्न, नागरिकलाई गुणस्तरीय औषधि निःशुल्क उपलब्ध गराउन र सरकारी निकायहरूबिचको सहकार्यलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

मन्त्रालयकी सचिव डा. राधिका थपलियाले सिंहदरबार वैद्यखानाको लामो र गौरवपूर्ण इतिहास रहेको बताउँदै यसका उत्पादनहरू गुणस्तरीय र विश्वसनीय भएकोले नै सहकार्यका लागि रोजिएको स्पष्ट पारिन् ।

इतिहास बोकेको संस्थाबाट गुणस्तरीय औषधी खरिद गर्ने उनले बताइन् । सचिव थपलियाका अनुसार, प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका १५ वटा अस्पताल र आपूर्ति व्यवस्थापन केन्द्र गरी कुल १६ निकायले औषधि खरिद गर्नेछन् ।

ती निकायले आफ्नो आवश्यकता र बजेटको आधारमा औषधिको सूची तयार पारेर सोझै वैद्यखानाबाट खरिद गर्नेछन् । उनले भनिन््, ‘यस प्रक्रियाले समयमै औषधि आपूर्ति हुनेछ र म्याद सकिने समस्या पनि हट्नेछ ।’

यस सम्झौताको सबैभन्दा उल्लेखनीय पक्ष भनेको खरिदमा प्राप्त हुने १८ प्रतिशत छुट हो । सचिव थपलियाले भनिन्, ‘सिंहदरबार वैद्यखानासँग सिधै खरिद गर्दा हामीले १८ प्रतिशत छुट पाउनेछौँ । यो प्रदेश सरकारका लागि ठुलो आर्थिक बचत हो ।’

उनले छुटबाट बचत भएको रकमले थप औषधि खरिद गरी नागरिकलाई अझ बढी सेवा दिइने जानकारी दिइन् । यसले सीमित बजेटमा पनि धेरै नागरिकसम्म आयुर्वेदिक सेवा पुर्‍याउन मद्दत पुग्ने उनको तर्क छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर