उनका अनुसार नेपालमा अझै सरकारी मेडिकल कलेज र अस्पतालहरूको विस्तार गर्नुपर्ने अवस्था छ तर उल्टै निजी कलेजलाई पोस्ने नीतिमा सरकार लागेको छ ।
उनले उदाहरण दिँदै भने, ‘त्रिवि मेडिकल अध्ययन संस्थानले १०० विद्यार्थी पढाउन हिच्किचाइरहेको अवस्थामा पूर्वाधार र बिरामी चाप नपुग्ने निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण हो ।’
सत्याग्रहसँगै डा. केसीले केही माग राखेका छन् ।
निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने उनको माग छ ।
यसैगरी अघिल्ला सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग राखेका छन् ।










