संघीय निजामती सेवा विधेयक अन्तर्गत कर्मचारीहरूको अवकाश उमेरबारे लामो समयदेखि भइरहेको विवाद अन्ततः टुंगिएको छ। निजामती कर्मचारीको अवकाश उमेर सीमा सम्बन्धी प्रावधानमा प्रतिनिधि सभाबाट पारित प्रतिवेदनमा उल्लेख भएको व्यवस्था कायम राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएपछि विवाद टुंगिएको हो।
यसअघि अवकाश उमेर ५९ वा ६० वर्ष बनाउने विषयमा निरन्तर बहस चलिरहे पनि मंगलबारको छलफलले ऐन लागू भएको वर्ष ५८ नै कायम गर्ने निर्णय गरेको हो।
सत्तापक्षका सांसदहरू र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने ५९ वा ६० वर्षको अडानमा रहेकाले सोमबारको बैठकमा सहमति जुट्न सकेको थिएन। तर मंगलबार भएको छलफलमा अन्ततः ५८ वर्षकै प्रस्तावलाई स्वीकृति दिइएको हो।










