खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन्। बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्। मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थालेका थिए। मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति गरेकाले कहिले काठमाडौँमा पानी आउँछ भन्ने यकिन समय भन्न नसकिने अवस्थामा रहेको छ।
मन्त्री यादव पानी काठमाडौँ चाडो पठाउने विषयमा छलफल गर्न भन्दै आज पनि त्यतै बसेका छन् । जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि पानी काठमाडौँ झानुपर्ने भन्दै मन्त्री यादव विभिन्न निकायका व्यक्ति तथा निर्माण व्यवसायीसँग छलफलमा जुटेको उनको सचिवालयका टङ्क धमलाले जानकारी दिए।
उनले भने, ‘मेलम्चीको पानी काठमाडौँ पुर्याउने विषयमा मन्त्री लागि पर्नुभएको छ, सबैसँग छलफल भइरहेको छ, बाढीका कारण क्षति पुगेका संरचना निर्माण गरेर चाँडै पानी काठमाडौँ पुग्छ।’ निर्माण व्यवसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्याएकाले पानी काठमाडौँ पठाउनका लागि केही ढिलाइ भएको मन्त्री यादवले बताए। उनले भने, ‘ठेकेदारले काम नगरेमा उपभोक्ता समितिबाट भए पनि काम गरी चाँडोभन्दा चाडो पानी काठमाडौँ पठाउन हामी लागिपरेका छौँ, एक महिना भित्रमा पानी काठमाडौँ पुर्याउने हाम्रो लक्ष्य हो।’










