सधैं स्कुल गइरहेको बच्चा कहिलेकाहीं अचानक जान मान्दैनन् । स्कुल जान डराउने, रुने, कराउने, झगडा गर्ने गर्छन् । बालबालिकाको यस्तो जिद्दीको अगाडि अभिभावक पनि लाचार भएर उनीहरुको इच्छाअनुसार स्कुल पठाउँदैनन् । कहिलेकाहीं यस्तो अवस्था आएमा त गम्भीर नहोला ।
तर कतिपय अवस्थामा लामो समयसम्म पनि बालबालिका स्कुल जान मान्दैनन् । बच्चालाई सक्ल पठाउने अभिभावकको प्रयास असफल भइरहेको हुन्छ । कसैलाई बल्ल पठायो, पुन: फर्किएर आउने र अर्को दिन पठाउन कठिन हुने अवस्था हुन्छ ।
यस्तोमा बालबालिकाको यस्तो बानीबाट आजित कतिपय अभिभावक स्कुल नजानुको कारण बुझ्नुको सट्टा बच्चाले नै झुट बोलेको वा बहाना बनाएको ठानेर कुटपिट गरी विद्यालय पठाउने गर्छन् । जुन विल्कुल गलत हो ।
एन्जाइटी हरेक मानवमा हुनुपर्ने अन्तरनिहित गुण हो। साधारण भाषामा भन्ने हो भने एन्जाइटी भनेको डर हो।
बच्चाले विभिन्न कारणवश विद्यालय जानबाट पन्छिन खोजेमा उसमा आजीवन नकरात्मक असर पार्न सक्छ । जस्तै, ६ महिना पढाइ छुटेको छ भने पनि बालबालिकालाई पछि कक्षामा पुन: सामेल हुन गाह्रो हुन्छ । यसबाट उनीहरुमा झन् मानसिक दबाब पर्न जान्छ ।
यदि स्कुलमा तनावपूर्ण वातावरण भइरह्यो र समयमै यसको समाधान भएन भने बच्चामा एन्जाइटी हुन सक्छ । पढाइमा ध्यान दिन नसक्नु, परीक्षाको डर, अन्य बालबालिकाबाट पीडित, शिक्षकद्वारा कुटपिट तथा यातना दिइएमा बालबालिकामा परिणाम स्वरुपः स्कुल जान मन नगर्ने, स्कुल जान डराउने, विद्यालय गएपछि टाउको भारी हुने, पेट दुखाइ, कहिले ज्वरो समेत आउने जस्ता स्वास्थ्य समस्या हुन सक्छ ।
यस्ता मानसिक समस्याबाट ग्रस्त भएका बालबालिकामा स्वास्थ्य जाँच चेक गराउँदा पनि कुनै पनि किसिमको शारीरिक रोग नदेखिने हुन्छ । अर्थात्, तनावपूर्ण वातावरणले उनीहरुमा एन्जाइटी गराई शारीरिक रुपमा पनि प्रतिक्रिया स्वरुप असहजताको महसुस गराउन सक्छ ।
यस्ता समस्या देखा परेमा सर्वप्रथम उनीहरुमा के कारणले यस्तो समस्या देखा पर्यो भन्ने विषयको पत्ता लगाई समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ । बच्चाको नजिक हुने पहिले सदस्य भनेको अभिभावक हो । अभिभावकले किन स्कुल जान नमानेका कारण नरम भएर सोध्नुपर्छ । यदि बच्चाबाट कुरा नआए स्कुलमा केही घटना घटेको छ कि भनेर बुझ्नु जरुरी हुन्छ । किनकि यो समस्यालाई जति धेरै बेवास्ता गरिन्छ, त्यति बच्चाको मनोदशा बिग्रिंदै जान्छ ।
बच्चा पढाइमा कमजोर छ भने उसलाई सिकाउने, बुझाउने प्रयास गर्न सकिन्छ । अभिभावकले होस् वा शिक्षकले उनीहरुलाई कमजोर भएको भान नगराई मेहनत गराउन अभिप्रेरित गर्नुपर्छ ।
हरेक शिक्षकले कुनै पनि विषय बच्चालाई असहज लागेमा आफूले धैर्य राखी उनीहरुले बुझ्ने शैलीमा बुझाउनुपर्छ । र, केही गडबड भए पनि उनीहरूलाई स्नेहपूर्वक बुझाउनुपर्छ ताकि उनीहरूले आफ्ना कमजोरी र गल्तीहरूलाई सकारात्मक रूपमा लिएर सुधार्न सकुन् । बालबालिकामा सम्झाउँदा, फकाउँदा पनि उचित सुधार नदेखिएमा सम्बन्धित चिकित्सकसँगको परामर्शमा औषधिसमेत खुवाउनुपर्ने हुन्छ ।