ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदा संरक्षण तथा पुनर्निर्माणका कामलाई सहज र प्रभावकारी बनाउन सार्वजनिक खरिद ऐनमा तत्काल संशोधन आवश्यक रहेको बताएका छन्।
ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर महर्जनले विद्यमान कानुनी व्यवस्थाका कारण सम्पदा निर्माण तथा पुनर्निर्माणका कार्यमा व्यवहारिक कठिनाइ उत्पन्न भइरहेको उल्लेख गरे। उनले विकास तथा निर्माणका प्रक्रियालाई छिटो र सरल बनाउन ऐन परिमार्जन अपरिहार्य रहेको धारणा राखे।
उनका अनुसार स्थानीय तहको नेतृत्वमा काम गर्दा सबैभन्दा ठुलो चुनौतीका रूपमा सार्वजनिक खरिद ऐन देखिएको अनुभव छ, जसका कारण समयमै योजना कार्यान्वयनमा ढिलाइ हुने अवस्था रहँदै आएको छ।
सोही अवसरमा उनले ललितपुर महानगर क्षेत्रभित्रका सबै सम्पदा पुनर्निर्माण कार्य पूरा गरिएको दाबी पनि गरेका छन्। उनले सम्पदा संरक्षणलाई निरन्तरता दिन कानुनी तथा प्रशासनिक सुधार आवश्यक रहेकोमा जोड दिएका छन्।










