काठमाडौंबाट सिन्धुलीको गोलन्जर जाँदै गरेको बलेरो पिकअप दुर्घटना हुँदा चालक सहित १३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सेवेदीका अनुसार सुनकोशी गाउँपालिका ६ मरिण डाईभर्सन नजिकै बा २० च ९३१ नम्बरको बलेरो पिकअप बीपी राजमार्गबाट सुनकोसी नदिमा खस्दा चालक सहित १३ जना घाइते भएको जानकारी दिए । पिकअपमा १९ जना यात्रु सवार थिए ।
घाइतेको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भैरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी तथा ससस्त्रको गोताखोर टोलीले उद्धार गरेको थियो । दुर्घटनामा घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेहरूमा गोलन्जर गाउँपालिकाका २३ वर्षीया प्रेम मगरको टाँउकोमा चोट लागेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । घाइते सबै एकै वडाका परिवारभित्रका छन् ।
काभ्रेतर्फ सडकमा अत्यधिक जाम भएको र सिन्धुलीतर्फ जाम खुल्ने बित्तिकै सवारी साधन अत्यधिक गतिमा गुडाउने कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय सिन्धुलीले राजमार्गका विभिन्न स्थानमा प्रहरी परिचालन गरेर गति नियन्त्रणको कार्य गरेको जनाएको छ । चालक बर्ष २६ को ओम बहादुर रानाको दुवै खुट्टाको घुडामा सामान्य चोट लागेको र उनको प्रहरीको नियन्त्रणमा उपचार भइरहेको छ ।










