शनिबार साँझदेखि अवरुद्ध कोशी राजमार्ग १७ घण्टापछि सञ्चालनमा आएको छ । शनिबार साँझ करिब ७ बजेबाट धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको थियो ।
ओरालो बाटोमा ब्रेक फेल भएका टिपरले स्कारपियोलाई ठक्कर दिएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवरुद्ध सडक आइतबार दिउँसो १२ बजेपछि सञ्चालन भएसँगै रोकिएको दर्जनौँ सवारी साधन गन्तव्य तर्फ लागेको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो। दुर्घटनापछि विराटनगरबाट क्रेन ल्याएर सडक खुलाउने प्रयास भएपनि रात परेको र एउटा मात्र क्रेनले नसकेपछि अर्को क्रेन ल्याउँदा समय लागेको हो। आइतबार पुन अर्को क्रेन ल्याएर दुइवटा क्रेनको सहायता सडक सञ्चालनमा आएको हो ।
प्रदेश २–०३– ००१ क १५२१ नम्बरको टिपर ब्रेक फेल भएर र अर्को नम्बर नखुलेको टिपरसँग ठोकिएर सडकमा पल्टँदासँगै रहेको पूर्व राज्यमन्त्री एवं सङ्खुवासभाका प्रतिनिधि सभा सदस्य दीपक खड्का सवार गाडीलाई शनिबार साँझ ठक्कर दिएको थियो। दुर्घटना पछि टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको थियो ।
सङ्खुवासभाबाट विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कारपियो गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३– ००१ क १५२१ नम्बरको टिपर अर्को टिपरसँग जुधेर पल्टँदा स्कारपियोलाई ठक्कर दिएको हो। टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडिको भागमा क्षति पुगेपनि सांसदसहित गाडीमा सवार सबै जना सकुशल रहेको र टिपरका सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका थिए ।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डिएसपी महर्जनले जानकारी दिनुभयो। दुर्घटना भएको ठाउँमा केही दिनअघिदेखि सडकको भित्तामा एक टिपर पल्टिएर रहेको बसेको प्रहरीले जनाएको छ ।