सुदूरपश्चिम प्रदेशमा पछिल्लो चार महिनामा भएका सवारी दुर्घटनामा परेर ६२ जनाको मृत्यु भएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्म भएका विभिन्न सवारी दुर्घटनामा ६२ जनाको मृत्युु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार प्रदेशभर भएका दुर्घटनामा अन्य सात सय ९५ जना घाइते भएका छन् । तीमध्ये चार सय ३० जना गम्भीर घाइते छन् । ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले चार महिनामा साना तथा ठूला गरेर पाँच ७९ सवारीसाधन दुर्घटनामा परेको तथ्यांक रहेको जानकारी दिए ।
उनकाअनुसार ती दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा धेरै पुरूष छन् ।४३ जना पुरूषको मृत्यु हुँदा १६ महिला र तीन बालबालिका रहेको डीएसपी जोराले बताए । गम्भीर घाइते भएका चार सय ३० जना मध्ये दुई सय ७७ पुरूष, ९६ महिला, ३३ बालक र २४ बालिका छन् ।
सामान्य घाइते तर्फ समेत पुरूषकै संख्या बढि देखिन्छ । दुई सय ५० पुरूष, ७१ महिला, २७ बालक र १७ बालिका रहेको ट्राफिक प्रहरीले जनाएको छ । मोटरसाइकल दुर्घटनाको संख्या धेरै चालू आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा भएका सवारी दुर्घटनामा सबैभन्दा बढि मोटरसाइकल रहेका छन् ।
प्रदेश ट्राफिक प्रहरीको तथ्यांकअनुसार पाँच सय ७९ सवारीसाधन मध्ये तीन सय ३७ मोटरसाइकल मात्र दुर्घटना भएका छन् । जीप र कार ६६, अटो, टेम्पो ४७ वटा, २१ वटा बस, १९ वटा ट्याक्टर, माइक्रो १३ र ९९ वटा अन्य सवारीसाधन रहेका छन् ।
साउनमा सबैभन्दा धेरै एक सय ७५, असोजमा एक सय ५४, भदौमा एक सय ३८ र कात्तिकमा एक सय १२ सवारीसाधन दुर्घटना भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले ९० प्रतिशत सवारी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको पाइएको बताए ।
विगतमा सवारीसाधनको यान्त्रिक गडबडीका कारण हुने दुर्घटनामा भने कमी आएको बताउँदै उनले तराई क्षेत्रमा छाडा चौपाया र पहाडमा कच्ची सडक प्रमुख कारणका रूपमा रहेको बताए ।










