नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ। ८ वर्ष अवधि रहने विकास ऋणपत्र २०८८ ‘च’ मंगलबार बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ।
विकास ऋणपत्र मंसिर १९ गते अपराह्न २ बजेसम्म बोलकबोल हुनेछ भने मंसिर २० गते निस्कासन हुनेछ। यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन्।
यो ऋणपत्र धितो राखी कर्जा समेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ। २०८८ मंसिर २० गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ। आर्जित ब्याजमा ब्याजकर लाग्नेछ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निस्कासित रकमको ८५ र १५ प्रतिशत छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकम सम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ।
घटीमा ५० हजार र बढीमा कूल निस्कासित रकमको सीमा नबढाइ ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ।