प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। सोमबार र बिहीबार नियमित बस्दै आएको बैठक यसपटक सुरक्षा व्यवस्थाका कारण मंगलबार र शुक्रबार सारिएको हो। हिजो बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेकाले मन्त्रिपरिषद् बैठक आजका लागि तोकिएको प्रशासन विशेष स्रोतले जनाएको छ।

आजको बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सेना परिचालन गर्ने विषय निर्णयका लागि प्रमुख एजेन्डा रहनेछ। यसअघि बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१औँ बैठकले संविधानको धारा २६६(१) बमोजिम निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन मन्त्रिपरिषद् समक्ष सेना परिचालन सिफारिस गर्ने निर्णय गरिसकेको छ।

फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई ध्यानमा राख्दै सरकारले शान्ति–सुरक्षालाई उच्च प्राथमिकतामा राखेर समयअगावै सेना परिचालन प्रक्रियालाई अघि बढाएको हो। निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–०८२ केन्द्रीय सुरक्षा समितिबाट पारित भइसकेको छ भने सेना परिचालन सम्बन्धी पत्राचार गृह मन्त्रालयले रक्षा मन्त्रालयमार्फत सुरक्षा परिषद्को कार्यालयमा पठाइसकेको छ।

भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछि शान्ति–सुरक्षाको अवस्था अझै पनि पूर्ण रूपमा सामान्य भई नसकेको भन्दै राजनीतिक दलहरूले सरकारप्रति आलोचना गर्दै आएका छन्। विगतमा प्रायः निर्वाचनअघि एक महिना मात्र सेना परिचालन हुने गरेपनि यसपटक सुरक्षाको असामान्य अवस्थाका कारण सेनालाई चाँडै फिल्डमा उतार्ने तयारी सरकारले अघि बढाएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर