मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको एमाले स्रोतले जनाएको छ ।

आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले राजीनामा दिन लागेका हुन् । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।

सर्वोच्चको आदेश अनुसार मुख्यमन्त्री यादवले आज बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सत्तापक्षकै सांसद अनुपस्थित हुने भएपछि बैठक दिउँसो २ बजेलाई सारिएको छ ।

नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले आफूहरूले मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव दिएको बताए ।‘अहिलेको अवस्थामा विश्वासको मत लिँदा पनि बहुमत पुग्न सक्ने अवस्था देखिँदैन’, महतोले भने, ‘त्यसैले राजीनामा दिँदा नै राम्रो हुन्छ भन्ने मेरो सुझाव छ ।

’मुख्यमन्त्री यादवले पनि आफू निकटस्थहरूसँग राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् । ‘मुख्यमन्त्रीजीले २ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्ना कुरा राखेर राजीनामा दिने सोच बनाउनुभएको छ’, मुख्यमन्त्री यादव निकट एक सांसदले भने– ‘राजीनामाको भाषाबारे छलफल भइरहेको छ ।

’मुख्यमन्त्री यादव गत कात्तिक २३ गते नियुक्त भएका थिए । गत कात्तिक २३ गते तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । त्यसअघि मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलको नाताले एमाले नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर उनको नियुक्तिको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । मुख्यमन्त्रीको लफडापछि प्रदेश प्रमुख भण्डारीलाई सरकारले फिर्ता गरेको छ भने सभामुख रामचन्द्र मण्डल पनि हटिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर