सुनसरीको रामधुनी नगरपालिकामा भएको सिटी सफारी चालक दिनेश कुमार चौधरीको हत्या प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । अन्धविश्वास र व्यक्तिगत रिसइबीका कारण ‘सुपारी’ (रकम) दिएर हत्या गराइएको रहस्य सार्वजनिक गर्दै प्रहरीले मुख्य योजनाकार र सुटरसहित ७ जनालाई पक्राउ गरेको हो ।
रामधुनी नगरपालिका–२ कर्मनिया टोलका ४५ वर्षीय चौधरीको हत्या आरोपमा पक्राउ पर्नेमा मुख्य योजनाकार दाजुभाइ, सुटर र अन्य सहयोगीहरू रहेका छन् । प्रहरीको अनुसन्धानबाट हत्याको मुख्य कारण अन्धविश्वास र पुरानो रिसइबी रहेको खुलेको छ ।
पक्राउ परेका मुख्य योजनाकारहरू रामधुनी–१ झुम्काका दाजुभाइ राजकिशोर साह (राजेश) र नन्दकिशोर साह हुन् । रामधुनी नगरपालिका–२ कर्मनिया टोलका ४५ वर्षीय चौधरीको हत्या आरोपमा पक्राउ पर्नेमा मुख्य योजनाकार दाजुभाइ, सुटर र अन्य सहयोगीहरू रहेका छन् ।
प्रहरीको अनुसन्धानबाट हत्याको मुख्य कारण अन्धविश्वास र पुरानो रिसइबी रहेको खुलेको छ । चौधरीको हत्या गर्नका लागि साह दाजुभाइले ६ लाख ५० हजार रुपैयाँको ‘सुपारी’ दिएको तथ्य बाहिर आएको छ । योजनाकार राजकिशोर साहले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहम्मद इब्रान मियासँग हत्याको सौदाबाजी गरेका थिए ।
प्रहरीका अनुसार ६ लाख ५० हजार दिने सर्तमा मिया हत्या गर्न तयार भएका थिए । काम फत्ते गर्नुअघि सुटर मियाले ३ लाख रुपैयाँ पेस्की बुझेका थिए भने बाँकी रकम काम तमाम गरेपछि लिने सहमति भएको थियो । पूर्वनिर्धारित योजना अनुरूप गत असोज २५ गते साँझ करिब साढे ५ बजेको समय रोजिएको थियो ।
रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा सिटी सफारी चलाइरहेका चौधरीमाथि सुटर मिया र उनको समूहले गोली प्रहार गरी हत्या गरेका थिए । श्रीमतीलाई ‘एकैछिनमा आइहाल्छु,’ भनेर दिनेश सिटी सफारी लिएर गएको असोज २५ गते घरबाट निस्किएका थिए ।
साँझको करिब ५ बजेको थियो । तर, त्यो ‘एकैछिन’ कहिल्यै आएन, बरु आयो उनको मृत्युको खबर । घरबाट निस्केको आधा घण्टा पनि नबित्दै, घरदेखि दुई किलोमिटर पर सुनसरी–मोरङ सिँचाइ नहरको सुनसान बाटोमा उनलाई गोली हानियो । प्रत्यक्षदर्शी छिमेकी नरेश चौधरीका अनुसार नहरको बाटोमा दिनेशलाई मोटरसाइकलमा आएका तीन व्यक्तिले रोकेका थिए ।
उनीहरूबीच चर्को विवाद भइरहेको थियो । केही अनिष्टको छनक पाएर नरेशले सोधे, ‘के भयो ?’ जवाफमा उनलाई पनि ज्यान मार्ने धम्की आयो, ‘तँ यहाँबाट गइहाल, नत्र तँलाई पनि यहीँ सिद्ध्याउँछौँ ।’ नरेश डराएर ज्यान जोगाउन भागे तर दिनेश भाग्न सकेनन् ।
जबसम्म नरेशले घरमा खबर गरेर परिवार र गाउँले घटनास्थल पुगे, त्यति बेलासम्म दिनेशलाई गोली लागिसकेको थियो । आक्रमणकारीहरू भागिसकेका थिए । नहरको किनारमा दिनेश रगताम्य भएर लडेका थिए । उनको सिटी सफारी त्यहीँ थियो ।
दिनेश एक सामान्य मानिस थिए । जसले विगत एक वर्षदेखि सिटी सफारी चलाएरै आफ्ना दुई छोरा, एक छोरी र श्रीमतीसहितको गुजारा चलाएका थिए । घटनाको लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न निम्न ७ जनालाई नियन्त्रणमा लिएको छ ।
जसमा मुख्य योजनाकार रामधुनी १ का राजकिशोर साह, योजनाकार सोही ठाउँका नन्दकिशोर साह, भोक्राहा नरसिंह–५ का सुटर मोहम्मद इव्रान मिया, सप्तरी राजविराजका अङ्कित साह, सप्तरीकै प्रिन्स कुमार दास, सुनसरी देवानगञ्जका गियास मन्सुरी र मिथिलेश यादव रहेका छन् ।
पक्राउ परेका सबैलाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।










