उज्यालो नेपाल पार्टीको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवार सूची तय गर्ने कार्यमा लागेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँका मेयर बालेन साह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि उनेपाले संवाद गरेको थियो ।
काठमाडौँका मेयर बालेनसँग पक्षसँग एकता गर्न उनेपाले पहिलो प्राथमिकतामा राखेको थियो । बालेन रास्वपासँग मिलेपछि पनि त्रिपक्षीय संवाद भएका थिए ।
पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि उनेपाले समानुपातिकको सूचीलाई अन्तिम रूपमा दिन लागेको हो । उनेपाका प्रवक्ता डा. राजु थापाले एकता सम्भव नभएको हुँदा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने कार्य भइरहेको जानकारी गराए ।
रास्वपासँग एकताका लागि हामी अत्यधिक भएर प्रस्तुत हुँदा पनि उक्त दलका सभापति रवि लामिछानेले एउटा शक्तिलाई अवमूल्यन गरेको हुँदा एकता टरेको उनेपाका एक केन्द्रीय सदस्यले बताएका छन् ।
हिजो राति अबेरसम्म पनि एकताका लागि प्रयास भइरहेको थियो । रास्वपा सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन साह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले हिजो राति पनि संवाद गरेका थिए ।
निर्वाचन आयोगले समानुपातिक तर्फका नाम पेश गर्ने अन्तिम दिन आज तोकेको छ । दलहरूले समावेशीताको आधारमा ११० उम्मेदवाको सूची बुझाउनुपर्ने हुन्छ ।










