नेपाली कांग्रेसले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई अयोगले मान्यता नदिएपछि कांग्रेसको बन्दसूची बुझाउन ढिलाइ भएको हो ।
मंगलबार बिहान आयोगमा बन्दसूची बुझाइएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । ‘केही प्राविधिक विषय मिलाउन पर्दा ढिलाइ भयो । मंगलबार बिहान निर्वाचन आयोगमा बन्दसूची बुझायौँ,’ प्रवक्ता महतले भने ।
निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो। आयोगले दिएको समयभित्र शुल्क तिरेर भौचर काटेको कांग्रेसले मंगलबार बिहानमात्रै बन्दसूची बुझाएको हो । सोमबार दिउँसो पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा समानुपातिक सूची बुझाउन निर्वाचन कार्यालयमा पुगेका थिए।
तर, पछि सूचीमा समेटिएका नाम हेरफेर र प्राविधिक विषय मिलाउँदा ढिलाइ भएको प्रवक्ता डा महतले जानकारी दिए । समानुपातिक सूचीमा राखिएको कांग्रेस सभापति देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा राति बन्दसूची तयार भए पनि बिहानमात्रै बुझाइएको हो ।










