नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किन नसक्ने बताउनुभएको छ ।
मध्यपहाडी लोकमार्गको अभियानको क्रममा पर्वत र कास्कीका विभिन्न स्थानमा आई पुग्नुभएका अध्यक्ष ओलीले अब नेपालमा राजतन्त्र फर्किन नसक्ने ठोकुवा गर्नुभयो ।
‘जसरी अब वि.सं. २०६५ साल इतिहासमा फर्किन सक्दैन त्यसैगरी अब राजतन्त्र पनि फर्किन सक्दैन,२०६५ सालमै राजतन्त्रको अन्त्य भइसक्यो’,उहाँको भनाई थियो ।
पछिल्लो समय राजतन्त्र फर्काउने भनेर गरिएको हल्ला फण्डाबाजी मात्र भएको उहाँले बताउनुभयो । उहाँले राजतन्त्रको नाममा अराजकता फैलाउन नहुने बताउनुभयो । उहाँले राजतन्त्र फर्काउने भन्दै एक थरी अराजकतावादीहरू चलबलाई रहेको भएता पनि सरकारले टुलुटुलु हेरेर बसिरहेको बताउनुभयो ।
अध्यक्ष ओलीले मिसन–०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गर्नुभयो । मङ्सिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा सङ्कलन गरिएका सबै माग र सुझाव राष्ट्रनिर्माणको खाका र योजना बनाउने गरि आफूहरूले छलफल गर्ने उहाँको भनाई थियो ।