चर्चित टिभी श्रृंखला ‘मेरी बास्सै’ को निर्देशक र अभिनेताको रुपमा दमन रुपाखेतीको पुनरागमन भएको छ । राजु मास्टरले छाडेपछि रुपाखेती ४ वर्षपछि सिरियलमा फर्किएका हुन् ।

रुपाखेतीले निर्देशन गरेका ३ एपिसोड युट्युबमा आइसकेको छ । ‘अब सिरियल रहुञ्जेल यसैमा काम गर्छु’ रुपाखेतीले भने, ‘अब सिरियललाई युवा दर्शकलाई समेत रुचिकर हुने ढंगले अघि बढाउँछौं ।

राजु मास्टरले स्वेच्छाले सिरियल छाडेको रुपाखेतीले बताए । पहिले लामो समयसम्म यो सिरियलमा काम गरेका उनी पछिल्ला वर्ष अन्य र आफैले पनि सिरियल ल्याउन थालेपछि ‘मेरी बास्सै’ छाडेका थिए।

रुपाखेती दोस्रोपटक सिरियलमा जोडिएका हुन् । यसअघि उनले ८० भागसम्म निर्देशन गरेका थिए । त्यसपछि उनले ‘झ्यानाकुटी’ र ‘हाकाहाकी’ सिरियल ल्याए ।

युवापुस्तालाई समेत रुचिकर हुने ढंगले सिरियल ल्याउने रुपाखेतीले बताए । उनले हरेक एपिसोडको युट्युब भ्यूज १० लाखभन्दा बढी भ्युज पुर्‍याउने योजना रहेको बताए ।

यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको यो सिरियल असारयता मिडिया हबको युट्युब च्यानलमा मात्र आइरहेको छ । माघदेखि पुनः कुनै एक टिभीमा ल्याउने योजना रहेको जानकारी रुपाखेतीले दिए ।

यो सिरियलमा सुरवीर पण्डित, रामचन्द्र अधिकारी, पल्पसा डंगोल, दिवाकर भण्डारी, उत्तम केसी, सुरेन्द्र केसी, साया भण्डारी, यादव थापा लगायतको अभिनय हुँदै आएको छ ।

रुपाखेती चाहिँ घरज्वाइँको भूमिकामा देखिँदै आएका छन् । ‘मेरी बास्सै’ हरेक मंगलबार राती साढे ८ बजेदेखि युट्युब च्यानलमा आउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर