नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ३० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरू भएको हो। आर्थिक समिति संयोजक हिमबहादुर रावलका अनुसार साढे ११ बजेसम्म ३० प्रतिशतभन्दा बढी प्रतिनिधिको दर्ता भइसकेको छ। देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्।
सात वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। अहिले पनि यहाँ नाम दर्ता गराउनेहरूको लामो लाइन देखिन्छ। विभिन्न छ स्थानबाट जुलुस आउने भएकाले दर्तामा केही ढिलाइ भए पनि यसले उद्घाटनलाई कुनै असर नगर्ने रावलले बताए।
उनले कार्यक्रम स्थल भृकुटीमण्डप मूलगेट सँगैका स्टलहरूबाट नाम दर्ता धमाधम भइरहेको जानकारी दिए।उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रूपैयाँ साथमा लिएर आउन अनुरोध गरेका छन्।
विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ। गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए।
कांग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। संस्थापनको बेवास्तापछि विधानको उक्त दफालाई टेकेर कांग्रेसलाई पुनर्जागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो ।










