कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ लिएर देश दौडाहामा निस्किएको फिल्म ‘कुमारी’ ले पोखरामा भव्य कन्सर्ट आयोजना गरेको छ । शनिबार साँझ पोखराको हल्लन चोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ मा करिब ७ हजार दर्शकको उपस्थिति रहेको थियो ।
कन्सर्टमा फिल्मका मुख्य कलाकारहरू अविशेक खड्का र आकृति राजभण्डारी स्टेजमा देखा पर्दा दर्शकको तर्फबाट हुटिङको वर्षा भएको थियो । उनीहरूले अहिलेको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा माहौल अत्यन्तै उत्साहित बनेको थियो ।
कलाकारद्वयले पोखरेली दर्शकको अभूतपूर्व मायाप्रति आभार प्रकट गर्दै माघ २३ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने चलचित्र ‘कुमारी’ हेर्न आग्रह समेत गरे ।
साङ्गीतिक माहौललाई तताउन पार्श्व गायक केहरसिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ का सदस्यहरूले फिल्मका गीतहरू ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ सँगै आफ्ना चर्चित सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरेका थिए ।
फिल्मका सबै गीतमा स्वर दिएका केहर र उनको ब्यान्डको प्रस्तुतिमा पोखरेली दर्शकहरू मज्जाले झुमेका देखिन्थे । बिग मार्टको प्रस्तुति र पावर्ड बाईमा आयोजित यो कन्सर्टको स्थानीय व्यवस्थापन प्रचारले गरेको थियो ।
माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कुमारी’ ले प्रचार प्रसारका देशभर कन्सर्ट सुरु गरेको हो । केही दिन अगाडि नेपालगन्जबाट सुरु भएको देशव्यापी साङ्गीतिक कन्सर्ट देशको विभिन्न स्थान हुँदै काठमाडौँमा आएर सकिनेछ ।
पोखरामा फिल्म र कलाकारहरूप्रति देखिएको यो क्रेजले आफू निकै पुलकित भएको निर्देशक दिनेश राउतले बताए । स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै उनले दर्शकको यो साथले चलचित्रप्रति थप उत्साह जगाएको उल्लेख गरे ।
विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित फिल्म ‘कुमारी’ को कन्सर्ट अब माघ ६ गते चितवन, १० गते काठमाडौँ र १७ गते झापाको दमकमा हुनेछ ।










