राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र साह कञ्चनपुर पुगेका छन्। पार्टीका अनुसार उनी मंगलबार धनगढीबाट हुलाकी सडकको मार्ग हुँदै पुनर्वासस्थित डोकेबजार पार गरेर कञ्चनपुर प्रवेश गरेका हुन्।

रास्वपा कञ्चनपुर समितिले जनाए अनुसार साहको कार्यक्रम डोकेबजारबाट पुनर्वास, बेलौरी र झलारी हुँदै महेन्द्रनगरसम्म तय गरिएको छ। यस क्रममा विभिन्न स्थानमा पार्टीका नेता-कार्यकर्ता तथा समर्थकहरूसँग अन्तरक्रिया तथा भेटघाट गरिएको छ।

पार्टीका नेता तथा कञ्चनपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य जनक सिंह धामीका अनुसार बेलौरीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा साहले बेलौरी, पुनर्वास, लालझाडी र बेलडाँडी क्षेत्रका नेता-कार्यकर्तासँग छलफल गरेका थिए। सो अवसरमा धामीले साहलाई मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रमअन्तर्गत साहले बेलौरी पार्टी कार्यालयमा हस्ताक्षर गर्नुका साथै घण्टी बजाएर पार्टी उम्मेदवारलाई जिताउन सन्देश दिएका थिए। त्यसपछि उनी क्षेत्र नं. २ अन्तर्गत झलारी र क्षेत्र नं. ३ को महेन्द्रनगर पुगेर पार्टीजनसँग भेटघाटमा सहभागी भएका छन्। महेन्द्रनगरको मदनचोकमा स्वागत तथा सम्मान कार्यक्रमसमेत आयोजना गरिएको जनाइएको छ।

२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित साह रास्वपाको उम्मेदवार बनेपछि पहिलो पटक कञ्चनपुर पुगेका हुन्। उनको आगमनसँगै पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूले विभिन्न स्थानमा स्वागत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर