राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन)ले झापा क्षेत्र नम्बर ५ को सुकुमवासी समस्या एक हजार दिनमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार बालेनले सार्वजनिक गरेको झापा केन्द्रित बाचापत्रमा लेखिएको छ, ‘झापा ५ का भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान गर्न रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग, १००० दिनमा समाधान नीति अवलम्बन गरी अधिकार सम्पन्न आयोग मार्फत समयसीमाभित्र कार्यसम्पन्न गरिनेछ ।’

झापा ५ मा मात्रै १२ हजार परिवारका तीन हजार पाँच सय व्यक्ति भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको रुपमा रहेको अनौपचारिक तथ्यांक छ । झापा जिल्लाभर भने ५० हजार सात सय बढी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ ।

झापा ५ भित्रको दमक नगरपालिकामा मात्रै ६ हजार ३४६, कमल गाउँपालिकामा ८१८, गौरादहमा २ हजार ६६०, गौरीगञ्जमा २ हजार १४६ बढी परिवार भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको रुपमा रहेका छन् ।

यी भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी समस्या रास्वपाको सरकार बनेको एक हजार दिनमा सक्ने प्रतिबद्धता बालेनले गरेका हुन् ।

भूमि सम्बन्धमा यसबाहेक पनि काम गर्ने उनको बाचा छ । ‘बाँझो जमिनको सदुपयोग सुनिश्चित गर्दै जग्गा चक्लाबन्दी तथा एकीकरण प्रवर्द्धनका लागि ‘ल्याण्ड बैंक’ (भूमि बैंक) को व्यवस्था गरिनेछ’ बालेनको बाचा छ ।

उनी थप लेख्छन्, ‘ऐलानी जग्गा सम्बन्धी उचित व्यवस्था एव नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरिनेछ ।’उनले दमक भ्युटावर सञ्चालनमा सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर