आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गरी कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा सुरक्षा तयारी तथा अनुगमन तीव्र पारिएको छ । सोही सन्दर्भमा कोशी प्रदेश निर्वाचन कमाण्ड पोष्टले प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूमा सुरक्षा अवस्थाको स्थलगत अनुगमन गरेको छ ।
निर्धारित कार्यक्रमअनुसार फागुन १३ गते सुनसरी, फागुन १४ गते मोरङ तथा फागुन १६ गते नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश कमाण्ड पोष्टका पदाधिकारीसहितको टोलीले ताप्लेजुङ, संखुवासभा, भोजपुर र उदयपुर जिल्लाका मतदान स्थलहरू, सीमावर्ती तथा संवेदनशील क्षेत्रहरूको भ्रमण तथा निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा टोलीले सम्बन्धित जिल्लास्थित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै निर्वाचन तयारी, सुरक्षा प्रबन्ध, जनशक्ति परिचालन, अन्तरनिकाय समन्वय तथा समग्र सुरक्षा अवस्थाको समीक्षा गरेको छ । साथै, निर्वाचन प्रयोजनका लागि स्थापना गरिएका अस्थायी सुरक्षा बेस तथा पोष्टहरूको स्थलगत निरीक्षण गरी सुरक्षा तयारीको अवस्था, सञ्चार प्रणालीको प्रभावकारिता तथा संयुक्त कार्यसमन्वयको अवस्थाबारे मुल्यांकन गरिएको छ ।
अनुगमन टोलीले सम्बन्धित सबै सुरक्षा तथा प्रशासनिक निकायहरूलाई उच्चस्तरीय समन्वय, सजगता, निष्पक्षता र व्यावसायिकता कायम राखी शान्तिपूर्ण, स्वच्छ तथा विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक निर्देशन तथा सुझाव प्रदान गरेको छ । निर्वाचन स्थलको भौतिक सुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षा र मतदानका दिन अपनाइने विशेष सतर्कतासम्बन्धी विषयमा समेत आवश्यक निर्देशन दिइएको छ ।
२८ जना प्रतिनिधि निर्वाचित हुने कोशी प्रदेशका १४ जिल्लामा कुल १ हजार ९०७ मतदान स्थल र ४ हजार २०७ मतदान केन्द्र रहेका छन् । प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा “प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२” का लागि पृतनापतिसहित प्रदेश सुरक्षा निकायका प्रमुखहरू तथा आन्तरिक मामिला हेर्ने मन्त्रालयका सदस्य रहने गरी प्रदेश कमाण्ड पोष्ट गठन गरिएको व्यवस्था गरिएको छ ।










