पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।
एमाले सचिव पद्मा अर्यालले यो जानकारी दिएकी हुन् । केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीर ओली निवास गुण्डुमा लैजाने र दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने स्रोतले जनायो ।
मोहनप्रसाद गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका थिए । गएराति अप्ठ्यारो महसुस भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा मोहन प्रसादको झापास्थित घरमा पनि आगजनी भएको थियो । त्यसयता उनी झापा गएका थिएनन् । त्यसअघिसम्म उनी झापास्थित घरमा आउजाउ गरिरहन्थे ।










