नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रारम्भ भएको छ। केही समयअघि सुरु भएको उक्त बैठकमा समसामयिक दुई प्रमुख विषयमा छलफल केन्द्रित रहने जनाइएको छ।
बैठकको मुख्य कार्यसूचीअन्तर्गत हालै सम्पन्न निर्वाचनको प्रारम्भिक विश्लेषण गर्ने र पार्टीभित्र देखिएको नेतृत्वसम्बन्धी विषयमा छलफल गर्ने तयारी गरिएको छ। विशेष गरी सभापति पदसँग सम्बन्धित राजीनामाबारे समेत बैठकमा विचार-विमर्श हुने बताइएको छ।
सभापति गगन थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत बुझाइसकेका छन्। तर, उक्त महत्वपूर्ण बैठकमा सभापति थापा स्वयं भने अनुपस्थित रहेको जनाइएको छ।
पार्टी नेतृत्व र केन्द्रीय सदस्यहरूको उपस्थितिमा जारी बैठकले निर्वाचनपछिको परिस्थितिको समीक्षा गर्दै आगामी रणनीति र संगठनात्मक निर्णयका विषयमा मार्ग निर्देशन गर्ने अपेक्षा गरिएको छ।










