अर्थमन्त्रीको पछिल्लो आश्वासनसँगै सेयर बजारमा उल्लेख्य उछाल आएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ।

आज ३४५ कम्पनीका २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आएको सुधारसँगै सबै उपसूचकहरू हरियाली देखिएका छन्, जसले समग्र लगानीकर्ताको आत्मविश्वास बढेको संकेत गरेको छ।

आज ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, सुपर खुदी हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी, होटल फरेस्ट इन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, भुजुङ हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले उच्च प्रतिफल पाएका छन्।

बजार उकालो लाग्नुमा अर्थमन्त्रीको निजी क्षेत्रमैत्री धारणा र सुधारमुखी प्रतिबद्धतालाई मुख्य कारणका रूपमा हेरिएको छ। उनले नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन सुशासनमा जोड दिने, आर्थिक सुधारलाई तीव्रता दिने र बजेटलाई रूपान्तरणकारी बनाउने बताएका छन्।

अर्थमन्त्रीले “अपराध गर्नेले उन्मुक्ति पाउँदैन, तर प्रतिशोधको राजनीति पनि हुँदैन” भन्दै नीतिगत स्थायित्व र निष्पक्षताको सन्देश दिएका छन्। साथै, सरकार निजी क्षेत्रको पक्षमा रहेको र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको पनि उनले स्पष्ट पारेका छन्।

विश्लेषकहरूका अनुसार यस्ता सकारात्मक सन्देशहरूले बजारमा विश्वास बढाउँदै लगानी आकर्षित गर्न मद्दत पुर्‍याउनेछ, यद्यपि आगामी दिनमा यसको स्थायित्व भने नीतिगत कार्यान्वयनमा निर्भर रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर