सांगीतिक टुरबारे त सुनिएकै हो, अब नेपाली कमेडियन टोलीले विदेशमा ‘कमेडी टुर’ समेत गर्ने भएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ‘अब हाँस्छ अमेरिका’ नामक कमेडी टुरबारे जानकारी दिइयो ।
हास्य कलाकारहरु सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला र सन्तोष थापा टुरमा सहभागी हुनेछन् । टिभी रियालिटी शो कमेडी च्याम्पियनबाट उदाएका यी कलाकारले पहिलोपटक यति बृहत रुपमा विदेशमा शो गर्न लागेका हुन् ।
कलाकारको टोली दुई सातापछि अमेरिका प्रस्थान गर्ने भएको छ । आयोजक फ्लाइ–नेपाका निर्देशक विनोद अधिकारीले दुई दर्जनभन्दा बढी अमेरिकी सहरमा कार्यक्रम हुने बताए । उनका अनुसार जनवरी ५ मा भर्जिनियाबाट कमेडी टुर सुरु हुनेछ ।
मनोरञ्जनसँगै अमेरिकामा रहेका नेपालीलाई सीप सिकेर स्वदेश फर्कन आग्रह गर्ने उद्देश्य पनि रहेको उनले बताए । कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणसम्बन्धी डकुमेन्ट्री ‘एभरेस्टमेन’का निर्देशकसमेत रहेका अधिकारीले भने, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ, त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।’