लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत पारित गरेको छ। सातौँ अधिवेशनको १४औँ बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए।
सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।
बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिको प्रतिवेदन पेस गरेका थिए।
यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए। बैठकमा प्रदेश सभा सदस्यहरूले विभिन्न समसामयिक विषय उठाएका थिए।










